वृद्ध भएको कारण रिहाइ माग गर्दै चार्ल्स शोभराज फेरि सर्वोच्चमा, मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा

admin

काठमाडौं, ८ पुस : फ्रान्सेली नागरिक चार्ल्स शोभराज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

नेपालमा भएको दुई विदेशी नागरिकको ह’त्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार सिन्हाको एकल इजलासमा परेको हो ।

उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको छ । कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ ।

तर, विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ । शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन् ।

विगतमा पनि असल चालचलन भएको विदेशी नागरिकलाई समेत उक्त सुविधा दिइएको भन्दै आफूले पनि उक्त सुविधा पाउनुपर्ने शोभराजले जिकिर गर्ने गरेका छन् । तर कारागार प्रशासनले भने कर्तव्य ज्यान मुद्दामा कुनै त्यस्तो नजिर नभेटिएको बताउँदै आएको छ ।

आफू ७० लागेपछि शोभराजले कैद मिनाहाका लागि पटक पटक निवेदन दिएका छन् । ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरकफरक मुद्दामा काठमाडौं र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले समेत चिनिएका शोभराजविरुद्ध नेपालबाहेक भारत, थाइल्यान्ड, टर्की, ईरान लगायतका देशमा २० जनाभन्दा बढीको ह’त्या गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया