एमसीसीकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड

admin

काठमाडौं, ८ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताएका छन् । उनले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नरहेको पनि बताए ।

(आज) बिहीबार न्युज एनेन्सीसँगको अन्तर्वार्तामा प्रचण्डले भने, ‘मानौँ अप्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । टुट्दैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

अध्यक्ष प्रचण्डले अनुदानको रूपमा देशको भौतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई भने खुसीसाथ स्वीकार्नुपर्ने बताए । उनले एमसीसीबारे केही प्रश्न उठेकाले त्यसबारेमा दलहरूबीच समझदारी हुनुपर्ने र आवश्यक परे संशोधन पनि गर्नुपर्ने बताए । यस्तै प्रचण्डले एमसीसीबारे तीन सदस्यीय कार्यदलले अध्ययन गरिरहेको र त्यसले केही समय लिँदा पनि फरक नपर्ने बताए ।

उनले भने, ‘एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे । पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटि भएका छन्, जुन–जुन प्रावधानले हामीलाई अप्ठ्यारो पार्ने जस्तो छ, ती प्रावधान सच्याइनुपर्‍यो । त्यसलाई स्पष्ट पारिनुपर्‍यो । जरुरी पर्दा संशोधन पनि गर्नुपर्‍यो । यो विषय अलि गम्भीर र संवेदनशील भइ नै सकेको हुनाले राजनीतिक दलहरूको बीचमा पनि अधिकतम समझदारीको प्रयास गर्नुपर्‍यो ।’

 

प्रतिक्रिया