नेपाल आइपुग्यो थप ६ लाख ६४ हजार डोज खोप

admin

काठमाडौं, ९ पुस : नेपालमा थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको छ । (आज) शुक्रबार बिहान आइपुगेको खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए ।

सरकारले आउँदो १३ गतेदेखि काठमाडौं उपत्यकाका तीनसहित आठ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपको एक लाख ६ सय २० डोज गएको कात्तिक महिनाको दोस्रो हप्ता प्राप्त गरेको थियो । सरकारले प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, र पर्सा, वाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने जनाएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिने जनाएको छ ।

प्रतिक्रिया