माओवादी केन्द्र महाधिवेशन : केपी ओलीलाई प्रचण्डको फोन, महाधिवेशनको मिति लम्बियो

admin

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन (आज) आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दिउँसो तीन बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ ।

नेकपा माओवादी केन्द्रले (आज) आइतबार सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रणा गरेको छ । यसअघि राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनिए पनि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएपछि उद्घाटन सत्रमा अरु दललाई बोलाइएको माओवादीले जनाएको छ ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोन गरेर निमन्त्रणा गरेका छन् । तर, ओलीले आफू झापामा रहेकाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नपाउने जवाफ दिएको जानकारी आएको छ भने ओलीले पार्टी महासचिव शङ्कर पोखरेललाई पठाउने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि चितवनमा भएको एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड सहभागी भएका थिएनन् । त्यसपछि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ओली र प्रचण्डको एकै मञ्चमा भेट भएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रको पदाधिकारी संख्या १५ हुने भएको छ । महाधिवेशन सुरु हुनु अघि बसेको केन्द्रीय समिति बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने गरी पदाधिकारी संख्या १५ हुने निर्णय गरेको हो ।

यस्तै, बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गरेको छ । महाधिवेशनको मिति पनि लम्ब्याउँदै दुई दिन थप गरिएको छ । राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि छलफल लम्बिने भन्दै दुई दिन समय थप गरिएको हो ।

यसअघि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन (आज) आइतबारदेखि मंगलबारसम्म हुने भनिएको थियो । यसैबीच, माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दुई घण्टा पर सरेको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे हुने भनिएकोमा ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

महाधिवेशनका लागि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठौँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौं आइसकेका छन् ।

माओवादीले सहभागीलाई आफैँ खाने बस्ने प्रबन्ध गर्न भनेको छ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने तयारी छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ ।

संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुर्याउने र भरपर्दो कम्युनिस्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने सम्भावना छ ।

राजनीतिक, वैचारिक र साङ्गठानिक रुपमा फरक मत राख्ने नेताहरु नहुँदा पुनः नेतृत्वमा आउन प्रचण्डलाई सजिलो छ । प्रचण्डले आफ्ना पुराना साथीहरुलाई पार्टीमा फर्काउने बताए पनि त्यो सम्भावना कम छ ।

प्रचण्डले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र आफ्नै बुतामा स्थापित भएको परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनले गर्ने पनि बताएका छन् ।

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा (एमाले)सँग पार्टी एकता गरेको माओवादी गएको फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । महाधिवेशमा कुल एक हजार ६ सय ३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी एक हजार ६ सय ३१ जनाको सहभागिता रहने माओवादीले जनाएको छ ।

माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ ।

प्रतिक्रिया