काठमाडौं, ११ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी महामन्त्री कुन्ती शाहीले माओवादी देशको स्वाधीनताको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।
माओवादीको महाधिवेशनमा (आज) आइतबार शुभकामना दिन पुगेकी महामन्त्री शाहीले राप्रपा र माओवादीबीच विचार र वादमा फरक भए पनि स्वाधीनता र देशको रक्षा गर्ने सवालमा एकै ठाउँमा उभिनुपर्ने बताइन् ।
महामन्त्री शाहीले अहिले पनि लाखौँ युवा विदेशमा दुःख गर्न बाध्य रहेको, देशमा अस्थिरताको कालो बादल मडारिएको, देशको स्वाधीनता खतरामा परेको अवस्थामा माओवादीको महाधिवेशनले एउटा नयाँ निष्कर्ष निकाल्नुपर्ने बताइन् ।
यस्तै महामन्त्री शाहीले नेपाली युवाले खाडी मुलुकमा १०० डिग्रीभन्दा तातोमा पसिना बगाउन बाध्य रहेको बताएकी छिन् । ‘यो मुलुकका लाखौँ युवाहरु विदेशमा रोजगारीका नाममा खाडी मुलुकमा १०० डिग्री भन्दा बढी तातो भूमिमा आफ्ना पसिना चुहाएर विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन् । युवालाई देश बनाउनका लागि अब प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न यहीँ छ ।’ उनले क्रममा भनिन् ।