काठमाडौं, १२ पुस : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको छ । केही समय ढिलो गरी मध्यान्ह १२ बजेदेखि राजधानीको कमलादीमा बन्दसत्र सुरु भएको हो ।
यस्तै माओवादी केन्द्रले बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल चयन गरिएको छ । जसमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।
बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ । उक्त राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ ।
त्यस्तै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको छ । स्वयंसेवकहरूले प्रतिनिधि कार्डको आधारमा प्रवेश अनुमति दिइरहेका छन् । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।
हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।