माओवादी महाधिवेशन : बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

admin

काठमाडौं, १२ पुस : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्दसत्रको सुरुमा अध्यक्ष मण्डलको घोषणा भएको थियो । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका थिए ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि माओवादीले गरेका गल्ती, सुधार्नुपर्ने पक्ष र अबको बाटोबारे समेटेका छन् । उक्त प्रतिवेदन प्रतिनिधिलाई वितरण गरिने माओवादीले जनाएको छ ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ । समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको माओवादीले जनाएको छ ।

प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहनुभएको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ । सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।

प्रतिक्रिया