बारी बाँझो हुँदा हामी आयातित वस्तु खाइरहेका छौँ, देशलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री

admin

काठमाडौं, १६ पुस : अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

(आज) शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको १४औँ वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, सङ्गठित र परिचालित गरेर देशको अर्थतन्त्र निर्माणका लागि सरकारले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री शर्माले किसानहरूलाई सङ्गठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराए । उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए । अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरू सरकारबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरूलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरू स्थापना गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास जनाए । सोही क्रममा अर्थमन्त्री शर्माले भने, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले देश निर्माणमा किसानहरूको महत्त्वपूर्ण भूमिका छ ।’

थप उनले भने, ‘यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ । हाम्रो बारीहरू बाँझो हुँदा हामी आयातित वस्तुहरू खाइरहेका छौँ । उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्यम भनेको कृषि नै हो । सहकारीहरूले सङ्गठित रूपमा किसानहरूलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्त्वपूर्ण योगदान गर्न सक्छन् ।’

प्रतिक्रिया