काठमाडौं, १६ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि अध्यक्ष प्रचण्डले (आज) शुक्रबार जवाफ दिएपछि प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।
जवाफ दिने क्रममा प्रचण्डले प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदनलाई व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राम कार्कीको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेको फरक मतबारे भने जवाफ दिएनन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा छलफल गर्न माओवादीले २५ वटा समूह बनाएको थियो ।
जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग (एमसीसी) का बारेमा प्रतिवेदनमा जे छ त्यही रूपमा बुझ्न आग्रह गरे । अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा परिमार्जनसहित राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी पारित गर्ने उल्लेख गरेका छन् । यस्तै अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने भन्दै यसका लागि जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार रहेको बताए ।
२०४५ सालमा सानो समूहबाट सुरु गरेर जनयुद्ध अनि शान्ति प्रक्रिया हुँदै गणतन्त्र र संविधान निर्माण आफूहरूको ठूलो उपलब्धि भएको उनले बताए । गएको आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।