मैले त हारेर पनि जितेको छु, देउवाले अहिले नै गुटको राजनीति गर्न थालिसक्नुभएको छ : डा. शेखर कोइराला

admin

काठमाडौं, १८ पुस : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइरालाले आफूले हारेपनि पार्टीभित्र लोकतन्त्रले जितेको बताएका छन् ।

(आज) आइतबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । उनले भने–‘होइन्, मैले जितें वा जितिनँँ भन्ने भन्दापनि लोकतन्त्रको विजय भएको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने जुन प्रयास मैले गरें–त्यो नै ठूलो कुरा हो ।’ प्रस्तुत छ कोइरालासँगको कुराकानी सम्पादित अंश :-

तपाईं सभापतिमा शेरबहादुर देउवासँग पराजित हुनुभयो, नेपाली काँग्रेसको चाहीँ हार भयो वा जित ?

अहिलेको महाधिवेशनमा नेपाली कांग्रेसले जितेको छ । पार्टीमा धेरै साथीहरुमा महाधिवेशन हुँदैन भन्ने थियो । तर, हामीले लोकतान्त्रिक विधिमार्फत वडादेखि केन्द्रसम्म सफलतापूर्वक महाधिवेशन सम्पन्न गरेका छौं । यो नै नेपाली कांग्रेसको विजय हो ।

अहिलेसम्म शेरबहादुर देउवाले कोइराला परिवारलाई हराउन सक्नुभएको थिएन्, तर तपाईंलाई हराउनुभयो । तपाईंलाई के लाग्छ–तपाईंले किन हार्नुभयो ?

होइन्, मैले जितें वा जितिनँँ भन्ने भन्दापनि लोकतन्त्रको विजय भएको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने जुन प्रयास मैले गरें–त्यो नै ठूलो कुरा हो ।

तर, तपाईंले आफ्नो टिमको व्यवस्थापन गर्न सक्नुभएन भन्ने पनि आरोप छ ?

तपाईंले ठिकै भन्नुभयो, मैले टिमको व्यवस्थापन गर्न सकिनँ । अब त धेरै कुराहरु आइसकेको छ । मैले रामचन्द्र पौडेलजीलाई भनेको थिएँ–‘तपाईं सभापतिको उम्मेद्वार हुनेभए सबैको साझा उम्मेद्वार हुनुपर्यो । म यो कुरा मान्न तयार छु । प्रकाशमान सिंहलाई मनाउनुहोस भनेको हो ।’

तर, प्रकाशमानजीलाई हामीले पनि मनाउन सकेनौं, उहाँले पनि सक्नुभएन् । दोस्रो कुरा, मैले मेरा भाई र बहिनीहरुलाई मनाउन सकेन । यी मेरा कमजोरीहरु हुन् । म आफ्नो कमजोरीलाई लुकाउन सक्दैन् । मेरा कमजोरी भनेका यिनै हुन् ।

इतिहासमा पहिलोपटक कोइराला परिवार बिभाजित भयो, यसको कारण चाहीँ के होला ?

यो पहिलोपटक र दोस्रोपटकको कुरा होइन्, नेपाली कांग्रेसमा कोइराला परिवारले नै जित्नपर्छ भन्ने होइन् । मुख्य कुरा लोकतन्त्रले जितेको छ, कांग्रेसले जितेको छ भनेर हेर्नुहोस न । मैले त हारेर पनि जितेको छु । सबै एकातिर अनि म एकातिर थिएँ । तर पनि १ हजार ८ सय ५५ महाधिवेशन प्रतिनिधिहरुको मन जितेँ । मेरो लागि त्यो धेरै ठूलो कुरा हो ।

तपाईंका लागि त्यो कुरा ठूलो होला अब, तपाईंले त्यसलाई कति सुरक्षित राख्न सक्नुहुन्छ भन्ने प्रश्नपनि रहला । तर, नेपाली कांग्रेसमा कोइराला परिवारको भूमिका ठूलो छ त्यसलाई तपाईंले जोगाउन सक्नुभएन नि होइन् ?

अब मैले के गर्ने त ? मेले भनें नि मेरा भाई/बहिनीलाई मिलाउन सकिनँ । विपी कोइरालाले मेरा बुवा केशबप्रसाद कोइरालालाई पठाएको चिठ्ठीको मर्म उहाँहरुले बुझ्न सक्नुभएन् । योभन्दा मैले के भन्ने ? तर, कोइराला परिवारको हार भयो भन्ने कुरा गलत हो । त्यसो हो भने १ हजार ८ सय ५५ कोइराला परिवार थिए त ?

तर, सुजाता कोइराला र शशांक कोइराला बीचमा बिभाजित मनस्थिति भयो त्यसले तपाईंलाई घाटा लाग्यो होइन् ?

होइन्, घाटा र नाफाको कुरा होइन् नि । मैले अघि नै भनिसकें उहाँहरुलाई मैले मिलाउन सकिनँ । उहाँहरुले टाटा मेमोरियल क्यान्सर अस्पतालबाट बिपी कोइरालाले मेरो बुवालाई एउटा चिठ्ठी पठाउनुभएको थियो । उहाँहरुले त्यसको मर्म बुझ्न सक्नुभएन् । म योभन्दा धेरै केही पनि भन्दिन् ।

तपाईंले महाधिवेशनपछि शशांक र सुजातासँग कुरा गर्नुभयो ?

अहिले गरेको छैन् । म विरामी भएको थिएँ, त्यसैलेपनि अहिले म विराटनगर आएर बसेको छु । कुरा भएको छैन् ।

गिरिजाप्रसाद कोइराला पनि अफ्ठ्यारो पर्यो भने विराटनगर गएर बस्नुहुन्थ्यो, तपाईं पनि त्यसै गर्नुहुँदो रहेछ है ?

होइन्, मेरो घर नै विराटनगर हो । घर नआएर म कहाँ जाने ?

उसोभए तपाईंले आफुलाई मत दिएका प्रतिनिधिहरुलाई आगामी दिनमा पनि सुरक्षित राख्न सक्नुहुन्छ ?

त्यो जिम्मा त मेरो भयो । तर, उहाँहरुलाई मात्र होइन् । समग्र नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई नै मैले सुरक्षित राख्नुपर्छ । त्यो काम म गर्छु । राजनीतिमा पूर्वाग्रह राखेर काम छैन् ।

सुशिल कोइरालासँग शेरबहादुर देउवा पराजित हुँदा उहाँ पार्टीको वरिष्ठ नेताको रुपमा आउनुभएको थियो । तर, तपाईंलाई पार्टी सभापति देउवाले २०औं वरियतामा राख्नुभयो । यसमा तपाईंको भनाई के छ ?

हा…हा…हा…। यो कुरा उहाँलाई नै सोध्नुहोस न, मलाई त महाधिवेशन प्रतिनिधिहरुले आफ्नो वरियतामा राखिसक्नुभएको छ । म यसैमा खुसी छु । दोस्रो कुरा, भनेको नेपाली कांग्रेसको विधान र पद्धती रहेको छ । सभापतिज्यूले यी सबै कुरालाई ख्याल गरेर बनाउनुभएको होला । मैले उहाँसँग कुुरा गरेको छैन् । किनभने नेपाली कांग्रेसमा वरियताको कुरामा सधैँ लडाई भइरहेको छ ।

१३औं महाधिवेशनपछि वरियतामा गोपालमान श्रेष्ठले एकरडेढ वर्षसम्म वरियताको लागि सही नै गर्नुभएन । तर, अचम्मको कुरा उहाँको लागि एउटा कमिटी बन्यो र उहाँलाई वरियतामा अगाडि राखेपछि त्यो कमिटी भंग भयो । यस्तो पनि हुँदो रहेछ नेपाली कांग्रेसभित्र मलाई अचम्म परेको छु ।

तर, महाधिवेशनमा सम्मानजनक मत ल्याउनुभएका तपाईंलाई उहाँले २०औं वरियतामा राख्नुभएको छ । यसमा तपाईं सहमत हुनुहुन्छ ?

वरियतामा कसलाई कहाँ राख्नुभयो त्यो मेरो सरोकारको विषय भएन् । रामचन्द्रजीलाई दोस्रोमा राख्नुभयो, ठिकै गर्नुभयो । उहाँ सिनियर नेता हुनुहुन्छ । तर, यो मेरो सरोकारको विषय होइन् ।

उसोभए तपाईं चुप लागेर बस्नुहुन्छ ?

म नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतले सभापतिले नराम्रो काम गर्नुभयो भने बोल्छु । तर, अन्य कुरामा जुन सभापतिले गर्ने अधिकारका कुराहरु छन् त्यसमा मैले बोलेर केही फाइदा छैन् । राजनीतिमा नैतिकता र संस्कार हुन्छ । म नैतिकता र संस्कार बोकेको परिवारको मान्छे हो । म यस्तो झिनामसिना कुरामा विवाद गर्न चाहन्नँ ।

त्यसोभए तपाईं जुन वरियतामा रहेर भएपनि काम गर्नुहुन्छ ?

हो, मेलै अघिनै भनिसकें नि । मलाई १ हजार ८ सय ५५ जनाले वरियता दिनुभएको छ । म यसमै खुशी छु । सभापतिले दिनुहुँदैन भने ठिकै छ ।

तपाईंले पराजित भएपछि म गुट र भागबन्डाको राजनीति गर्दिन् भनेर घोषणा गर्नुभएको थियो, तपाईं अहिलेपनि त्यही लाईनमा हुनुहुन्छ ?
म यो कुरा तपाईंलाई अहिलेपनि भनिरहेको छु ।

उसोभए अब कांग्रेसमा गुटको राजनीति अन्त्य भएको हो ?

सभापतिजीले नै गुटको राजनीति गर्नुभयो भनेमात्र अप्ठ्यारो पर्ने हो । उहाँले अहिले नै गुटको राजनीति गर्न थालिसक्नुभएको छ । उहाँले दश जना केन्द्रीय सदस्य मनोनित गर्नुभयो । तर, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, प्रदीप पौडेल र महेश आचार्यलाई किन मनोनित गर्नुभएन् रु

पराजित भएका मान्छेलाई ल्याउनुपर्छ भन्ने जरुरत छ र ?

त्यसोभए दश जनामा पाँच जना किन पराजित भएकालाई ल्याउनुभयो ? यो त उहाँमाथि प्रश्न उठ्यो नि, होइन् ? चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, प्रदिप पौडेल, महेश आचार्यहरुको नेपाली कांग्रेसमा केही देन नै छैन् ?

मेरो भनाई के हो भने–उहाँले गुटको विजारोपण मनोनयनबाटै सुरू गरिसक्नुभएको छ । तीन÷चार जनालाई ल्याएको भए के फरक पर्ने थियो ? उहाँले मनोनित गर्नुभएकाहरु पनि चाहिन्छ पार्टीमा तर, यी चार नेतापनि पार्टीमा चाहिन्छ भन्ने मेरो भनाई हो ।

उसोभए शेरबहादुर देउवा पार्टीभित्र फेरीपनि गुट बलियो बनाउन लाग्नुभयो भन्ने तपाईंको आरोप हो ?

१३औं महाधिवेशनमा त्यही गर्नुभयो । अहिले पनि सुरु गर्नुभएको छ । तर अझै केही बिग्रीएको छैन् । त्यसो नगर्नुहोस भन्ने मेरो चाहना हो । शेरबहादुर देउवाले सुशिल कोइराला र गिरिजाप्रसाद कोइरालासँग पराजित भएपछि ४० प्रतिशत भाग खोज्नुभएको थियो, तपाईंपनि त्यसै गर्नुहुन्छ ?

यो ४० प्रतिशत भन्ने कुरामा म चासो राख्दिनँ । अब छिट्टै राष्ट्रियसभाको निर्वाचन हुँदैछ, अब नोमिनेशन हुन्छ । त्यसमा उहाँले कसरी गर्नुहुन्छ ? कस्ता मान्छे ल्याउनुहुन्छ ? पार्टीभित्र छलफल गर्नुहुन्छ वा गर्नुहुँदैन् ? गठबन्धनबाट हामीले कति सिट लिने हो ? यो कुरा पार्टीभित्र छलफल गर्नुपर्यो । उहाँले त्यसो गर्नुहुन्छ वा गर्नुहुँदैन् ?

भोलि स्थानीय र केन्द्रीय निर्वाचण पनि हुन्छ । राम्रो मान्छेलाई ल्याउनुभयो भने ४०, ५०, ६० जे भएपनि ठिक छ । तर, कस्ता व्यक्तिलाई ल्याउने भन्नेमा पार्लियामेन्ट्री बोर्ड हुन्छ । त्यसमा मेरो ४० तेरो ६० भनेर कसैले भन्नुहुँदैन् । यो कुरामा रामचन्द्रजी र शेरबहादुरजी दुबैले गल्ती गर्नुभएको हो ।

उसोभए तपाईं अब चार वर्ष चुप लागेर बस्नुहुन्छ ?

किन चुप लागेर बस्ने रु ६०र४० लियो भने मात्र ठिक हुन्छ र रु त्यसो होइन् नि त । यो कुरा महत्वपूर्ण होइन् । नेपाली काँग्रेसमा शेरबहादुरजी विधिसम्मत् हिँड्नुभयो भने एकदम ठीक । म त्यसलाई स्विकार गरेर हिँड्छु । उहाँ सफल हुनुभयो भने नेपाली काँग्रेस सफल हुन्छ ।

निर्वाचनहरु आउँदैछ्न । निर्वाचनमा कसरी सफल हुने भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ । मेरो ध्यान निर्वाचनमा गइसकेको छ । मैले साथीहरुलाई निर्वाचनमा फोकस हुन भनिसकेको छु ।

जिल्ला सभापतिहरुको निर्वाचन हुनलागेको छ । तपाईंले जिल्लामा पनि आफ्ना मान्छे जिताउन लाग्नुपर्ने होला होइन् ?

त्यो त स्वभाविक हो । जिल्ला अधिवेशनमा हाम्रो आन्तरिक प्रतिष्पर्धा हो । त्यसमा हामीले आफ्नो उम्मेद्वारी दिन्छौं । कतिले जित्नुहोला कति पराजित हुनुहोला त्यो आफ्नो ठाउँमा छ । यो त नेपाली काँगे्रसभित्रको आन्तरिक लोकतन्त्र हो । यसमा च कुनै द्धिविधा छैन् ।

केन्द्रीय महाधिवेशनमा तपाईंलार्ई र विमलेन्द्रजीले समर्थन गर्नुभएन तर, प्रदेश २ मा गएर तपाईंले उहाँलाई किन समर्थन गर्नुभयो ?

एउटा कुरा के बुझ्नुपर्यो भने, नेपाली कांग्रेसमा म र विमलेन्द्रजी बिचमा २ वर्षको अन्तरालमा धेरैपटक छलफल भइसकेको हो । त्यो छलफलमा उहाँले जो दोस्रो हुन्छ त्यसलाई समर्थन गर्ने भनेर भनेकै हो । तर, के कारणले गर्नुभएन् त्यो कुरा उहाँलाई नै सोध्नुहोस । अब कुरा रह्यो प्रदेश २ मा हाम्रो पक्षका साथीहरुले यहाँ बिमलेन्द्रजीसँग मिलेर जानुपर्छ भन्ने कुरा गर्नुभयो ।

केही साथीहरुले शेरबहादुरजीसँग मिल्नुपर्छ भन्ने कुरा पनि गर्नुभयो । तर, मेरो कुरा फरक थियो । मैले भोलि राजनीति गर्ने हो भने आफ्नै समूह बनाएर जानुपर्छ भनेको थिएँ । तर, मैले साथीहरुलाई बुझाउन सकिनँ । त्यसैले हामी उहाँसँग मिलेर अगाडि बढेका हौं । अब जिल्लामा पनि अधिवेशन हुँदैछ । त्यहाँपनि उहाँसँग मिलेर जोन कुरा हुँदैछ ।

उसोभए प्रदेश २ का जिल्लामा पनि तपाईं र बिमलेन्द्रजीबीच सहमति हुन्छ ?

हुनसक्छ । हामीले यो पार्टीभित्र प्रतिष्पर्धा गरेको हो । जुन कुरा स्वभाविक पनि हो, यस्ता कुरामा चिन्ता लिनुहुँदैन् ।

तर, कांग्रेसभित्रको प्रतिष्पर्धा पनि महाभारत हुने गर्छ, गुट र शक्तिको कुरा हुन्छ नी कांग्रेसमा त ?

होइन्, हामीले महाभारत बनाएको छैनौं । मिडियाले महाभारत बनाएको हो ।

आर्थिक चलखेलको कुरा पनि आउँछ नि नेपाली काँग्रेसमा होइन् ?

त्यो त भयो त, जिल्लादेखि केन्द्रसम्म भयो । डडेल्धुरामा देख्नुभयो होला । राज्यशक्तिको पुरै स्रोत र शक्ति त त्यहाँ प्रयोग भएको देखियो । त्यो शेरबहादुरजीले गर्नुभयो । जुन कुरा गलत हो । त्यो गर्नुपर्ने जरुरत नै थिएन ।

यस्तो अन्य जिल्लामा पनि भएको छ । यस्तो कुरा एकदम गलत हो । तर, कसले कसलाई समर्थन गर्यो ? भन्ने करामा बबाल गर्नुपर्ने कुनै कारण छैन् । मिडियाले यसलाई धेरै फोकस गरेको देखिन्छ । त्यसो गर्नु जरुरत छैन ।

तर, शेरबहादुर देउवा शक्तिशाली सभापति बन्नुभयो, केन्द्रीय समितिमा उहाँले जे भन्नुभयो त्यही हुन्छ नि होइन् ?

हो, बन्नुभयो । त्यसको लागि उहाँलाई बधाई छ । उहाँले जे खोज्नुभएको थियो त्यो पाउनुभयो । तर, विधानसम्मत् रुपमा हिँडिदिनुहोस भन्ने कुरा मेरो हो । मैले अरु केही खोजेको छैन् ।

उहाँले गलत गर्नुभयो भने हामीले प्रश्न उठाउँछौं । तर, हाम्रो कामना के छ भने–अब पार्टीलाई उहाँले राम्रो बनाउनुहोस । उहाँको सभापतित्वमा एक नम्बरको पार्टी बनाउनुहोस । त्यो त मेरो पनि चाहना हो ।

प्रतिक्रिया