राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारीमा जुट्दै आयोग

admin

काठमाडौं, १९ पुस : राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार पर्सि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि आयोगले शनिबारदेखि नै आन्तरिक गृहकार्य शुरू गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

उहाँले उम्मेदवारी दर्ता गराउने, त्यसका लागि आवश्यक जनशक्ति खटाउने र दर्तापछि अन्य प्रक्रिया अघि बढाउनेलगायत सबै कार्यका लागि योजना तयार भइसकेको जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि आयोगले प्रकाशित गरेको कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्न प्राथमिकता निर्धारण गरिएको पौडेलले बताउनुभयो ।

मतपत्रको शुरूमा एमालेको सूर्य चिह्न रहनेछ भने दोस्रोमा कांग्रेसको रूख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता चिह्न राखिएको छ ।

त्यस्तै, पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोकतान्त्रिक समाजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदुर किसान पार्टी, १०औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११औं स्थानमा नेपाल लोकतान्त्रिक पार्टी र १२औं स्थानमा नेपाल परिवार दलको चुनाव चिह्न रहनेछ ।

त्यस्तै, सो निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदान केन्द्र रहनेगरी ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू तोकिएका छन् ।

त्यसै गरी मतदान स्थल रहेका जिल्लाका सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । त्यसै गरी निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भइसकेको आयोगले जनाएको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।

प्रतिक्रिया