त्रिविका ३ सय कर्मचारी कामविहीन

admin

काठमाडौं, १९ पुस : करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ ।

आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यालयमा तालाबन्दी गरेका कारण ती कार्यालयमा कार्यरत करिब ३ सय कर्मचारी कामविहीन भएका छन् । आफ्नो कार्यालय जान नसकेपछि ती पदाधिकारीले अरू विभिन्न कार्यालय चाहार्दै आवश्यक फाइल त्यहीँ मगाएर सदर गर्ने गरेका छन् ।

आन्दोलनरत विद्यार्थीले पहिलोपटक मंसिर १६ गतेदेखि पदाधिकारीको कार्यकक्षमा मात्र तालाबन्दी गरेका थिए । पदाधिकारीले उनीहरूको मागको सुनुवाइ नगरेपछि गत पुस ६ गतेदेखि तीनैजना पदाधिकारीको कार्यालयको मूल ढोकामै तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण त्रिविका अधिकांश विभाग र महाशाखाको काम ठप्प छ । तालबाबन्दीपछि आफूहरू कार्यालय आउनै छाडेको बताउँदै एक कर्मचारीले भने– ‘आएर के गर्ने, न बस्ने ठाउँ न त कार्यालय नै, कहिलेकाहीँ आउँछौं, चौरमा घाम ताप्छौं, घर जान्छौं ।

’ गत मंसिर १४ गते बसेको सिनेट बैठकले त्रिविमा करार शिक्षकलाई स्थायी गर्ने गरी निर्णय गरेपछि सो निर्णयको विरोधमा विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण त्रिविको प्रशासनिक काम ठप्प छ । त्रिविका पदाधिकारीहरू कहिले बल्खु त कहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बसेर काम गर्ने गरेका छन् ।

त्रिविका पदाधिकारीको अडान नभएका कारण सिनेट बैठकले करारका शिक्षकलाई स्थायी र आंशिकलाई करार गर्ने निर्णय गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया