सुडानका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

admin

काठमाडौं, १९ पुस : सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकले राजीनामा दिएका छन्। सेनासँगको विवादास्पद सम्झौतापछि पुनर्वहाली भएको केही सातामै उनले पदबाट राजीनामा दिएका हुन् ।

‘देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न सकिएन’, उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु।’

हमडोकसँग सम्झौता गरेर सेनाले प्रधानमन्त्रीको जिम्मेवारीमा निरन्तरता दिए पनि सुडानमा नागरिकबाट चुनिएकाले शासन गर्न पाउनुपर्ने मागसहित प्रदर्शन जारी छ। जारी प्रदर्शनमा केहीले ज्यानसमेत गुमाइसकेका छन्।

सेना र हमडोकबीचको सम्झौता अस्वीकार गर्दै प्रदर्शन जारी राखेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्।

एक टेलिभिजनलाई सम्बोधन गर्दै हमडोकले मुलुकलाई विपद्तर्फ जान नदिन सक्दो प्रयास गरेको तर सहमति नजुटेको बताएका थिए। उनले पूरै अस्तित्व नै खतरामा पर्ने गरी सुडान एउटा खतरनाक टर्निङप्वाइन्टमा पुगेकोसमेत बताएका छन्।

प्रधामन्त्री हमडोकले राजीनामा दिँदै देशको लोतन्त्र बचाउन र नागरिक स्वतन्त्रताका लागि आफूले जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन्।

गत अक्टोबरमा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामडोकलाई नजरबन्दमा राखेको थियो। त्यसपछि केही साता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनर्बहाली गरेको थियो।

प्रतिक्रिया