अब चौबीसैँ घण्टा जेनेरेटर सञ्चालन, टुकी बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्थाको अन्त्य

admin

हुम्ला, १९ पुस : हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेरेटर’ सञ्चालनमा आएको छ ।  जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । जेनेरेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश सरकारको विशेष सहयोगअन्तर्गत ६२.५ केभीए क्षमताको जेनेरेटर जडान गरिएको हो । यसअघि विद्युत् अभावले सुत्केरी गराउन तथा शल्यक्रिया गर्न समस्या हुनुका साथै भिडियो एक्सरे तथा सिटीस्क्यान गर्नसमेत बाधा पुगिरहेको थियो । अस्पतालले अत्यावश्यक कामका लागि जेनेरेटर चौबीसैँ घण्टा सञ्चालन गर्ने जनाएको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाबाट नियमित विद्युत् आपूर्ति नहुँदा यसअघि बत्ती हेरेर स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता थियो । जेनेरेटरको लागि बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सामाजिक विकास मन्त्रालयलाई विशेष निर्देशन दिएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि जिल्ला अस्पताल हुम्लामा पुग्दा उनीसमक्ष अस्पतालले विद्युतको समस्याले सेवा प्रवाहमा समस्या रहेकाले त्यसको विकल्प दिन माग गरेको थियो । खरिददेखि ढुवानी जडानसम्म गरी झण्डै २४ लाख रुपैयाँमा जेनेरेटर सञ्चालनमा आएको जनाइएको छ ।

प्रतिक्रिया