राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा, सबैभन्दा धेरै जना सदस्य कांग्रेसले पायो

admin

काठमाडौं, १९ पुस : सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा (आज) सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ६ जना सदस्य पाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच/पाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक जना सदस्य पाउनेछन् । राष्ट्रिय सभा सदस्यको चुनावका लागि (भोलि) मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुने भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।

राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव हुने व्यवस्था छ । चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेश सभा सदस्यहरू पाँच सय ३२ जना, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४ सय ९३ गरी जम्मा दुई हजार २५ मतदाता छन् ।

आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकेको जनाएको छ । चुनावमा सत्ता गठबन्धनबीच सहमति भएकाले गठबन्धनकै उम्मेद्वारले जित्ने पक्का जस्तै छ । सत्ता गठबन्धन आवद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

कांग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक/एक जना राष्ट्रियसभा सांसद गुमाउँदैछ । यस्तै एमालेले प्रदेश एकबाट ३, लुम्बिनीबाट २, सुदूरपश्चिम, प्रदेश २, कर्णालीबाट एक/एकजना सांसद गुमाउँदैछ । माओवादी केन्द्रले गण्डकीबाट २, प्रदेश २ र कर्णालीबाट एक/एक जना सांसद गुमाउँदैछ ।

एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक/एक जना सांसद गुमाउँदैछ । प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राई विदा हुनेछन् । लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र कांग्रेसका दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ ।

त्यस्तै, सुदूरपश्चिमबाट कांग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ । बागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । गण्डकीबाट माओवादीका दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादी शान्ति अधिकारी जिसी विदा हुँदैछन् ।

प्रदेश २ माओवादीका शशिकला दाहाल र एमालेका सुमनराज प्याकुरेलको समय अवधि सकिँदैछ । कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी एमालेकी कविता बोगटी र माओवादीका जीवन बुढा विदा हुँदैछन् ।

प्रतिक्रिया