गुणस्तरको विषयमा निगम सुतेको छैन, कुनै पनि नराम्रा समाचार नआओस् : सुरेन्द्रकुमार पौडेल

admin

काठमाडौं, १९ पुस : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन् ।

(हिजो) आइतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताएका हुन् । उनले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र सतर्क रहेको बताए ।

पौडेलले भने, ‘गुणस्तरको विषयमा निगम सुतेको छैन । निगमले धेरै समाचार दिने भन्दा पनि हामी समाचार नै नआओस् भन्ने चाहन्छौँ ।’ यसैक्रममा पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकाले नेपालमा पाइप लाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताए ।

उनले अहिले सिनामङ्गलमा सेन्ट्रल ल्याब रहेकाले त्यो ल्याबबाट गुणस्तर जाँच सुरु गरिसकेको र सिनामङ्गलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त नरहेको दाबी गरे । उनले नेपालमा भारतबाट पाइप लाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताए ।

कार्यकारी निर्देशक पौडेलले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढिसकेको बताए ।

प्रतिक्रिया