पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

admin

अर्घाखाँची, १९ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताउनुभएको छ । उहाँले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले आज दुर्गाफाँटमा आयोजना गरेकोे बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताउनुभयो ।

विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्रीमा निवार्चित भएपछि काठमाडाँै उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाउनुभयो । उहाँले जनताको बलिदानीबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने स्पष्ट पार्नुभयो ।

कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गर्नुभएको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, कांग्रेस प्रवेश गर्नुभएकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया