राष्ट्रिय सभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता आज

admin

काठमाडौं, २० पुस : आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो ।

चुनाव चिह्न दिएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले जनाएको छ । आउँदाे फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ । चुनावमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् । चुनावका लागि सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन एकातिर भए पछि एमालेले अहिलेको आठ सिट गुमाउने सम्भावना बढेको छ ।

एमाले, कांग्रेस, एकीकृत समाजवादीले उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् भने माओवादी केन्द्र र जसपाले टुङ्ग्याउन बाँकी छ । चुनावका लागि आयोगले यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।

चुनावमा प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता भाग लिने छन् ।

पालिकाका एक हजार ४ सय ९३ र प्रदेश सभाका ५ सय ३२ मतदाता रहनेछन् । चुनावबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको दुई वर्षमा पदावधि सकिने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलो पटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।

प्रतिक्रिया