प्रचण्ड देशकै अभिभावका रूपमा रहेकाले पुरानै नेतृत्वलाई निरन्तरता दिएको हो : नेता गुरुङ

admin

काठमाडौं, २१ पुस : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशकै अभिभावका रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् ।

(आज) बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष प्रचण्डलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन् । उनले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए ।

नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिए । सोहीक्रममा नेता गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए ।

यस्तै, नेता गुरुङले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकाले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको बताए । उनले आफूले अहिलेसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे ।

उनले वर्षमान पुन र जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताए । उनले पार्टीका पदाधिकारीका लागि चुनाव गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गरे । नेता गुरुङले पदाधिकारीका लागि गरिएको चुनावले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया