देउवालाई प्रश्न : पार्टीमा दुर्घटना हुन सक्छ, केन्द्रीय सदस्य के आधारमा मनोनीत गरिएको हो ?

admin

काठमाडौं, २१ पुस : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

(आज) बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट चुनावमा उठेका नेताहरूको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ? त्यसको कुरा जान्न चाहेको भनी सभापति देउवालाई प्रश्न गरेका छन् ।

कोइरालाले भने, ‘पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ ।’

सोहीक्रममा थप्दै उनले भने, पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै काम बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।’

उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताए । उनले पार्टीका निष्ठावान्, इमानदार र त्यागी नेता, कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस सङ्गठनमा निराशा पैदा भए आउँदा चुनावहरू असहज हुन सक्ने उनको भनाइ छ ।

यस्तै, नेता कोइरालाले आउँदो तीन वटै तहको चुनावमा नेपाली कांग्रेस एक्लै उठ्ने बताए । कांग्रेसलाई एक्लै उठाएर विजयी बनाउने उनले बताए । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रूपान्तरणको सन्देश बोकेर जनताको बीचमा जाने पनि उनले उल्लेख गरे ।

नेता कोइरालाले आफ्नो समूह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसङ्गत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताए ।

अहिले सिंहदरबारस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरूको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समीक्षा गर्नुका साथै आउँदा कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया