छाउ गोठ भत्काएपछि मात्रै छाउपडी अन्त्य हुन्छ : राष्ट्रपति

admin

काठमाडौं, २१ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताएकी छिन् ।

(आज) बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिसँगको भेटघाटमा उनले सो बताएकी हुन् । राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् । सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताइन् ।

उनले युवा, युवतीबीच हुने अपहरण, ब ला त्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न समाजिक सङ्घ-संस्थाहरूको ठूलो भूमिका रहेकाले उनीहरूले सरकारसँग मिलेर समाजका विकृति, विसङ्गतिहरू समाधान गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले बालबालिकाले सर्वाङ्गीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन् । कतिपय सरकारी विद्यालयमा पूर्वाधार कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरूको वृत्ति र तालिमको समस्या रहेकाले त्यसलाई समाधान गर्दै लैजानुपर्ने उनले बताइन् ।

विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङ न्यूनीकरण गर्न सकिने उनले उल्लेख गरिन् । महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषसरह नै अधिकार दिनुपर्ने बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया