काठमाडौं, २२ पुस : शेयर बजार परिसूचक नेप्से (आज) बिहीबार बढेको छ ।
लगातार चार दिन बढेर (हिजो) बुधबार झण्डै ३१ अङ्कले घटेको नेप्से बिहीबार ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ । व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ ।
बिहीबार निर्जीवन बीमा समूहको शेयर दुई सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा, होटल र पर्यटन समूहको शेयर पनि एक सय अङ्कभन्दा धेरैले बढेको छ । बिहीबार दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनीको शेयर भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।