अदालत, संसद् र एमसीसीको अवरोध हटाएर अब देशलाई गति दिनुपर्छ : रामचन्द्र पौडेल

admin

काठमाडौं, २२ पुस : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउनका लागि राजनीतिक दलका बीचमा सहमतिको विन्दु खोज्नुपर्ने बताएका छन्।

(आज) बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक पौडेलले संसद्को अवरोध हटाउका लागि सहमतिको विन्दु खोजी गर्नुपर्ने बताएका हुन् ।

उनले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए । उनले सबै गतिरोध हटाएर देशलाई गति दिनुपर्ने बताए । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा आफूले जोड दिएको पनि बताए ।

पौडेलले भने, ‘नेपाललाई असफल देश बनाउन पाइँदैन भन्ने मेरो भनाइ हो । सबै नेतालाई मैले अनुरोध गरेको छु-सहमति, सम्झौता विन्दु खोजौँ । कुनै न कुनै सहमतिको विन्दु खोजौँ । तर यो अदालतको अवरोध, संसद्को अवरोध, एमसीसीको अवरोधलाई हटाएर देशलाई अब गति दिनुपर्‍यो भन्ने कुरा मैले गरेँ । मैले १५/१६ बुँदे एउटा सुझाव पनि प्रस्तुत गरेको छु, भोलि त्यसमा छलफल हुन्छ ।’

 

प्रतिक्रिया