राष्ट्रिय सभा चुनावमा विपक्षीहरूले एमालेमाथि गर्न सक्ने अन्तिम प्रहारबाट नआत्तिनुस् : केपी ओली

admin

काठमाडौं, २३ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूको प्रतिकूल आउनसक्ने बताएका छन् ।

(आज) शुक्रबार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा चुनावमा आफूहरूका लागि प्रतिकूल परिणाम आए पनि विपक्षीहरूले एमालेमाथि गर्न सक्ने अन्तिम प्रहार भएको दाबी समेत गरेका छन् ।

उक्त प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । राष्ट्रिय सभा चुनावपछि हुने चुनावमा एमाले बलियो हुने अध्यक्ष ओलीको दाबी छ ।

एमालेसँग नागरिकको साथ रहेकाले आउने चुनावमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने उनले बताए । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते चुनाव हुँदैछ ।

पार्टीको भर्खरै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको भन्दै उनले असन्तुष्टि जनाए । अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

नेकपा एमालेले शुक्रबार ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गरेको हो । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिति तोक्ने तयारी छ ।

प्रतिक्रिया