ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको ‘सुनामी’ ल्याउन सक्ने भएकाले कमजोर नआँक्न डब्ल्यूएचओको चेतावनी

admin

काठमाडौं, २३ पुस : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ ।

संक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो । पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए ।

तर, डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै संख्यामा मानिस संक्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताएका छन् । साथै डा. टेड्रोसले गरिब देशमा खोप पुर्‍याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिको बीबीसीले जनाएको छ ।

गएको हप्ता विश्वभर संक्रमणको संख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा सय प्रतिशतले बढेको तथ्याङ्क छ । यस्तै कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने पनि डब्ल्यूएचओ जनाएको छ ।

युरोप र अमेरिकामा कोरोनाका नयाँ संक्रमित उच्च संख्यामा देखा परिरहेका बेला यसअघि डब्ल्यूएचओका प्रमुख गेहब्रेयससले संक्रमण ‘सुनामी’को चेतावनी समेत दिएका छन् । उनले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताएका छन् ।

अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले संक्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताए । संक्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।

प्रतिक्रिया