पशुपति धर्मशालाको विषयमा छानबिन गर्न समिति गठन, ‘सरकारी सम्पत्तिमा रजाइँ गरौँला नसोचे हुन्छ’

admin

काठमाडौं, २३ पुस :  नेपाल-भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि (आज) शुक्रबार समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

सो समितिमा पाँच जना सदस्य रहेका छन् । यस समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन र देवीप्रसाद बराल रहेका छन् भने मन्त्रालयका लेखाका उपसचिव सदस्य रहेका छन् । समितिलाई सात दिनभित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

यस धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । यस समूहले पशुपतिमैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवम् धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

धर्मशालाका विषयमा छानबिनका लागि युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलाई शुक्रबार ज्ञापनपत्र पेस गरेको छ । ज्ञापनपत्र लिँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारबाही गरिने बताए ।

उनले भने, ‘सरकारी सम्पत्तिमा रजाइँ गरौँला नसोचे हुन्छ, सार्वजनिक सम्पत्ति एक इन्च पनि छोड्दिनँ, मिच्ने र गलत प्रयोजनमा दिनेलाई कारबाही गर्छु ।’

मित्र राष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय हो, यस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया