राष्ट्रिय सभा चुनावमा केपी ओलीले कसरी हार स्वीकार गरे होला : माधव नेपाल

admin

काठमाडौं, २३ पुस : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा हार स्वीकार गरिसकेको बताएका छन् ।

पार्टीको काठमाडौं महानगर कमिटीले (आज) शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको चुनावमा ओलीले आफ्नो पार्टीको हार स्वीकार गरेको बताएका हुन् ।

सोही क्रममा नेपालले भने, ‘आज तपाईँहरूले सुन्नुभएको होला केपी ओलीको एउटा भाषण । त्यो भाषणमा राष्ट्रिय सभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । सुन्नुभयो, हैन ? हार स्वीकार गरेका छन् । तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन । त्यो स्वभाव कस्तो छ भन्दा नयाँ नेतृत्व विकास गर्नै नदिने ।’

उनले ओलीले देशभर एकसाथ जिल्ला अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाए । जिल्ला-जिल्लामा गरेको भए नेताहरू जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको उनले बताए ।

अध्यक्ष नेपालले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ता नभएको दाबी पनि गरे । उनले ओलीसँग देवत्वकरण गर्ने मानिसहरू मात्रै रहेको र अन्य मानिसहरू विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको बताए ।

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए । उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले शुक्रबार पार्टीको जिल्ला अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा चुनावका परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए । त्यही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रिय सभाको चुनावमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया