प्रजिअकै सामु केएमसीले दियो विद्यार्थी फेल गराउने धम्की

admin

काठमाडौं, २४ पुस : काठमाडौं मेडिकल कलेज (केएमसी) ले एमबीबीएसलगायत चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क लिई छाड्ने अडान दोहोर्‍याएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार भएको वार्तामा कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलगायत प्रतिनिधिले चिकित्सा शिक्षा ऐनअनुसार नै विद्यार्थीसँग शुल्क मागिएको दाबी गरे । कलेजले अतिरिक्त शुल्क लिने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय पनि छलफलमा बस्न आवश्यक देखिएकाले पुनः वार्ता हुने बताइन् ।

‘सीडीओ (प्रमुख जिल्ला अधिकारी) कै अगाडि कलेजका प्रतिनिधिले आन्दोलन गरे प्रयोगात्मक परीक्षामा पास हुन नदिने धम्की दिए,’ वार्तामा सहभागी एक छात्रले भने । केएमसीले करारनामा बनाएर नै विद्यार्थीसँग आयोगले तोकेभन्दा बढी शुल्क मागेको छ । शुल्क विवादका कारण एक महिनादेखि पठनपाठन अवरुद्ध छ ।

केएमसीले विद्यार्थीसँग काठमाडौं विश्वविद्यालय सम्बन्धन शुल्क ९८ हजार ५ सय, रजिस्ट्रेसन शुल्क २५ हजार, नेपाल मेडिकल काउन्सिल रजिस्ट्रेसन शुल्क ५ हजार, प्रतिपरीक्षा ११ हजारका दरले शुल्क माग गरेको छ ।

विश्वविद्यालयमा भर्ना भएर पठनपाठनका लागि आएका विद्यार्थीसँग ५ हजारका दरले भर्ना फाराम शुल्क मागिएको छ । यीलगायत अनेक शीर्षकमा कलेजले लाखौं रुपैयाँ माग गरेको विद्यार्थीको गुनासो छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया