जनकपुर, २४ पुस : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो ।
“क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन्”, मुख्यमन्त्री राउले भन्नुभयो, “अब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।”
लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने विश्वास व्यक्त गर्नुभयो ।