राष्ट्रिय परिचयपत्रको सेवा आजदेखि काठमाडौंका सबै पालिकाबाट

admin

काठमाडौं, २५ पुस : काठमाडौंका सबै इलाका प्रशासन र पालिकाबाट (आज) आइतबारदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

गत मंसिरदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड लाग्दै आएको छ । भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि इलाका प्रशासन र पालिकाबाट पनि अनलाइन सेवाका लागि दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ ।

यसअघि विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन काठमाडौं आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश-२ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था गरिएको थियो । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ई-पासपोर्टको अनलाइन आवेदन लिने सेवा छैन ।

यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश-१, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग)मा व्यवस्था गरिएको थियो ।

यीसहित काठमाडौंमा इलाका प्रशासन र पालिकाबाट सेवा थप भएको विभागका निर्देशक एवम् सूचना अधिकारी युवराज कट्टेलले जानकारी दिए । अहिलेसम्म झण्डै ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण सङ्कलन भइसकेको छ ।

प्रतिक्रिया