काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप दिने तयारी

admin

काठमाडौं, २५ पुस : काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौं उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिने भनेर सरकारले सूचना नै निकालेको थियो ।

तर, खोपका लागि चाहिने सिरिञ्ज अभाव भएको भन्दै यी जिल्लामा खोप अभियान स्थगित गरिएको थियो । अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौं र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ ।

तर, ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ ।

प्रतिक्रिया