सेनाको जागिर छाडेर भिजिट भिसामा दुबई पुगेका युवासहित १ सय १८ नेपाली अलपत्र

admin

काठमाडौं, २५ पुस : दुबईमा १ सय १८ जना नेपाली युवा अलपत्र परेका छन् । पटक-पटक गरी चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दलालमार्फत दुबई पुगेका १ सय १८ युवाहरु अलपत्र परेका हुन् ।

यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने उक्त टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ ।

मुख्य नाइके भनिएका कोमलराज उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् । उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरुलाई झुक्याएर दुबई पुर्‍याएको पाइएको छ ।

दुबईस्थित अलफैदीमा कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी यी युवालाई भिजिट भिसामा दुबई पुर्‍याएका हुन् ।

केही पीडित युवाले कुल लाग्ने रकमको आधा अर्थात् करिव ४ लाख रुपैयाँ नेपालमा तिरेको र बाँकी रकम अफर लेटर आएपछि तिर्ने सहमतिमा दुबई आएको बताए । उनीहरुले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायको श्रीमती रन्जना ढकाल प्याकुरेलको नाममा रहेको प्रभु बैंकको खातामा नेपालमै रकम जम्मा गरेका थिए ।

दुबई आएको लामो समय भए पनि पीडित युवाहरु र दलालबीच सहमति भए अनुसारको काम नभएपछि मात्र उक्त समस्या बाहिर आएको हो । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायले आर्म्स गार्डमा काम लगाइदिन्छु भन्दै यहाँ ल्याएपछि बन्धक बनाएर राखेको पीडित श्रीराम रानाभाटले बताएका छन् ।

यसरी आएकामध्ये धेरैजसोको भिसा अवधि समाप्त भएको उनले जानकारी दिए । केही समय अघि नेपाली सेनामा काम गरेका नेपालीलाई मात्रै दुबईमा आर्म्स गार्डका लागि जागिर खुलेको भन्दै त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले प्रचार गरेको थियो ।

प्रतिव्यक्ति तीन हजार दिर्हाम अर्थात् करिब (एक लाख रुपैयाँ) तलबसहित खान र बस्न फ्रिसहित राम्रो सुविधा हुने आश्वासनमा उनीहरु भिजिट भिसामा दुबई पुगेका हुन् । लामो समयसम्म पनि काम नपाएर बिचल्ली भएपछि गत नोभेम्बर २७ मा एक हप्ताभित्र काम लगाइदिने भन्दै उपाध्ययले पीडितहरुसँग लिखित कागज गरेका थिए तर, जनवरी ७ सम्म पनि काम नलगाएपछि विचल्लीमा परेका युवाहरु दुबईमा रहेको त्रिनेत्र अफिस पुगेका थिए ।

उपाध्यायले पीडितहरुलाई आफूले नचिन्ने र अफिसमा नआउन भनेपछि त्यहाँ केहीबेर तनावपूर्ण अवस्था बनेको थियो । जसका कारण उपाध्यायलाई स्थानीय प्रहरीले पक्राउसमेत गरेको थियो । पक्राउ परेको केही समयपछि उनलाई छाडिएको छ । यता नेपाली दूतावास आबुधावीले उक्त घटनालाई निकै गम्भीरतापूर्वक हेरिएको बताएको छ ।

दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार उक्त घटनाबारे श्रम मन्त्रालयका उच्च पदाधिकारीले दूतावासमा सम्पर्क गरेकाले पीडितहरुसँग पनि सम्पर्क भइरहेको छ । सोमबार दूतावास खुल्नासाथ यसबारे आवश्यक प्रक्रिया अघि बढाउने उनले जानकारी दिइन् ।

यसरी अवैध रुपमा दलालहरूले विमानस्थलका कर्मचारीमार्फत सेटिङमा दुबई ल्याएका हजारौँ नेपाली अहिले अलपत्र अवस्थामा छन् । पछिल्लो समय भिजिट भिसाको नाममा दलालहरूले नेपालीलाई दुबई ल्याएर अलपत्र पार्ने कार्य निकै बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ६० हजार नेपाली भिजिट भिसामा दुबई आइपुगेका छन् ।

तर, स्वेच्छाले भिजिट भिसामा दुबई जान चाहेका नेपालीहरुलाई भने त्यति सहज छैन । अध्यागमनका कर्मचारीले केहीदिन अघिमात्र एउटा सहकारी संस्थाका पदाधिकारीहरु भिजिट भिसामा दुबई घुम्न जान लागेको अवस्थामा उनीहरुलाई फर्काएको थियो । तर दलालहरूले आफ्नो पहुँच र अध्यागमनका कर्मचारीलाई कमिशन बुझाएर यस्तो काम सहज रुपमा गर्दै आइरहेका छन् ।

प्रतिक्रिया