भारतमा उपचाररत प्रधानसेनापतिलाई भएको के हो, किन खुलाउँदैन सरकार ?

admin

काठमाडौं, २५ पुस : प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् ।

स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् । तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए । तर शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।

पौडेलले स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै, आवश्यक समयमा जानकारी गराउने बताए । प्रधानसेनापति शर्मा एक दुई दिनमै स्वदेश फर्किने भन्दै उनले त्यसपछि आवश्यकताअनुसार जानकारी दिने जिकिर गरे ।

उपरथीको जिम्मेवारीमा हुँदा दुई पटकसम्म मिर्गौलामा स्टोन भएपछि शर्माले सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराइसकेको स्रोतले जनाएको छ । यसअघि सैनिक अस्पतालमै उपचार गराउँदै आएका शर्माको स्वास्थ्यमा थप जटिलता आएपछि बिदा नै लिएर उपचारका लागि भारत गएको स्रोतको दाबी छ ।

प्रतिक्रिया