‘पाँचतारे होटलमा पनि नेपाली खानाको मेन्यु राखौँ’

admin

काठमाडौं, २५ पुस : नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्द्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरूमा पनि नेपाली खानाको ‘मेन्यु’ राख्नुपर्नेमा जोड दिइएको छ ।

सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको (हिजो) शनिबार बेलुकी आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरूले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेन्यु’ राख्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेन्यु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताए । अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश-विदेशमा प्रवर्द्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरू राख्नुपर्ने दबाब दिने उनको भनाइ थियो । विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ ।

एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ । एशोसिएसनको तथ्याङ्कअनुसार अहिले नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।

प्रतिक्रिया