गफ हाँकेर समृद्धि आउँदैन, मेरो समकक्षी साथीहरूप्रति बडो दिक्क लाग्छ : डा. भट्टराई

admin

काठमाडौं, २५ पुस : जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण देशमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् ।

राष्ट्रिय व्यापार सङ्घले (आज) आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे देशमा छिटो भन्दा छिटो विकास र समृद्धि हुने तर्क गरेका छन् ।

अध्यक्ष भट्टराईले देशमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने पनि स्पष्ट पारे । यस्तै भट्टराईले ‘ब्युरोक्रेसी’ अर्थात् कर्मचारीतन्त्रमा देशलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

सोही क्रममा भट्टराईले भने, ‘मलाई मेरो समकक्षी साथीहरूप्रति बडो दिक्क लाग्छ । परिस्थिति फेरिइसक्यो । एजेन्डा फेरिइसके । छिमेक फेरिइसक्यो । तर यति बेलाको हाम्रो मुख्य कार्यभार भनेको चाहिँ छिटो भन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो । तर यसमा हुँदाहुँदै थेगो त सबैले थाल्नु भो, समृद्धि–समृद्धि । तर त्यो समृद्धि हो के ? आउँछ कसरी ? भनेर मात्रै आउँछ कि ? त्यसपछि त्यसका खास नियमहरू बुझ्नुपर्छ ?’

त्यस्तै उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि देशलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औँल्याए ।  थप उनले भने, ‘अर्थतन्त्रका विभिन्न क्षेत्रको सन्तुलन मिलाउनुपर्छ भन्ने कुरा मुख्य नेतृत्वले नबुझेपछि के हुन्छ ? ब्युरोक्रेसीमा क्षमतावान् मानिसहरू हुनुहुन्छ । तर राजनीतिक नेतृत्वले चाहिँ मैले सबै क्षेत्रमा जानेको छु भन्ने अनि बिगार्ने होइन । कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस् भन्ने हो । देशमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होइन, गुड्डी हाँकेर होइन । विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइराखेको छ ।’

अध्यक्ष भट्टराईले देशबाट गरिबी निवारण नभइ व्यापार व्यवसाय फस्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरूले ध्यान दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया