सीसीएमसीसी : भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ, विद्यालय बन्दबारे निर्णय आज हुने

admin

काठमाडौं, २६ पुस : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न लागिएको बताए । सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

यस्तै राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ ।

यसैगरी शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने सीसीएमसीसीको सिफारिसबारे (आज) सोमबार छलफल गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीसीले (हिजो) आइतबार माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

यसबारे सोमबार निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् । उनका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय हुनेछ । केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ ।

केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

त्यस्तै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गर्न सिफारिस भएको छ । हवाई उडानका लागि विमानस्थल पुग्ने यात्रुले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन पनि सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ । यस्तै सार्वजनिक ठाउँमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रतिक्रिया