नवलपुर क्षेत्रमा दुई नयाँ प्रजातिका चरा भेटिए

admin

नवलपरासी, २६ पुस : यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम क्षेत्रका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ ।

गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गएको वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो ।

गत वर्षभन्दा तुलनामा यसवर्ष चराको समग्र संख्यामा समेत धेरै कमी जनाइएको छ । साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिएका उनले बताए ।

गत वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो । कुनै प्रजातिका चरा गएको वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गएको वर्षको तुलनामा न्यून देखिएको चौधरीले बताए । चखेवाको संख्यामा यो वर्ष गिरावट आएको छ ।

गत वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो । निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको संख्यामा धेरैनै कमी आएको चौधरीले बताए ।

प्रतिक्रिया