भारतमा एकैदिन झण्डै एक लाख ८० हजार जनामा संक्रमण पुष्टि, विश्वमा ज्यान गुमाउनेको संख्या ५५ लाख नाघ्यो

admin

काठमाडौं, २६ पुस : विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ लाख नाघेको छ । दुई वर्षअघि सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ५५ लाख पाँच हजार जनाभन्दा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा मात्रै विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै केही दिनदेखि विश्वभर संक्रमण फैलने क्रम बढेको छ ।

बितेको २४ घण्टामा अमेरिकामा तीन लाख ६ हजार र भारतमा एक लाख ८० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै बितेको २४ घण्टामा एक सय ४६ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

भारतमा अहिले सात लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा दोस्रो लहर सुरु हुँदा ५६ दिनपछि मात्र दैनिक संक्रमित संख्या एक लाख पार गरेको थियो । तेस्रो लहरमा भने सुरु भएको १० दिनमै संक्रमित संख्या एक लाख नाघिसकेको छ । त्यस्तै विश्वमा अहिलेसम्म ३० करोड ७८ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २५ करोड ९५ लाखभन्दा धेरै संक्रमित निको भएका छन् ।

यसैबीच ओमिक्रोन भेरियन्ट फैलिरहेको बेला साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । डेल्टा र ओमिक्रोनको मिश्रित नयाँ भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । २५ जनामा डेल्टाक्रोन पुष्टि भएकोमा ११ जनाको अस्पतालमा उपचार भइरहेको युनिभर्सिटी अफ साइप्रसले जनाएको छ । नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया