सङ्कटका बेला बैंकले बढी नाफा नखोज्नु, अब लकडाउनको बाटो अपनाउनु हुँदैन : अर्थमन्त्री

admin

काठमाडौं, २६ पुस : अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् ।

(आज) सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागअनुसार ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताए ।

उनले देशको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै सङ्कटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका देशमा शाखा खोल्न बैंकहरूलाई आग्रह गरे ।

कोरिया, जापान, इजरायललगायतका देशबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उनले ती देशमा शाखा खोल्न आग्रह गरेका हुन् । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए । उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताए ।

अहिले देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ । कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकै पटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए ।

उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् ।

त्यसले गर्दा व्यवसाय असफल हुने उनको भनाइ रहेको छ । यसैगरी कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने उनले बताए । लकडाउन गर्दा देशको अर्थतन्त्र सङ्कटग्रस्त हुने भन्दै लकडाउन गर्न नहुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया