भ्रष्टाचारी जति मासे पनि बढ्छन्, ओमिक्रोन भेरियन्ट फैलिनुमा राजनीतिक दल जिम्मेवार छन् : डा. सुन्दरमणि दीक्षित

admin

काठमाडौं, २६ पुस : जनस्वास्थ्यविद् डा.सुन्दरमणि दीक्षितले नेपालमा कोरोना भाइरस (ओमिक्रोन) को नयाँ भेरियन्ट फैलिनुमा राजनीतिक दलहरू दोषी भएको बताएका छन् ।

दलहरूले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको भनाइ छ । (आज) सोमबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै डा. दीक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि राजनीतिक दलहरूलाई महाधिवेशन गर्न दिएकाले कोरोना संक्रमण फैलिएको बताए ।

दलहरूले कोरोना संक्रमणलाई गम्भीर रूपमा नलिएकाले भयावह अवस्था आइसकेको डा. दीक्षितको भनाइ छ । आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिए पनि कार्यान्वयन नगरेको उनले गुनासो गरे ।

कुनै पनि दल र दलका नेताहरूको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नभएको समेत उनले बताए । सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै सोमबार २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको डा. दीक्षितको भनाइ छ ।

आफूले दुई वर्षअघि नै कोरोना भाइरसको जोखिमबारे जानकारी दिएको उनले सुनाए । भाइरसलाई भ्रष्टाचारीको संज्ञा दिँदै डा. दीक्षितले भने, ‘भ्रष्टाचारीलाई जति नै मासियो भने पनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरूको लापर्बाहीले गर्दा नै भाइरसको संक्रमण बढेको उनको भनाइ थियो ।

भुटानले सबै जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसक्दा नेपालले बालबालिकाहरूलाई खोप दिन नसकेको डा. दीक्षितले बताए । खोप नै भाइरसको संक्रमण रोक्ने एक मात्र बुटी भएको भन्दै उनले खोप तत्काल ल्याउन सरकारलाई सुझाव दिए । ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उनले बताए ।

डा. दीक्षितले ओम्नी काण्ड, सुन काण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गरे । सचेत नागरिक हुनुको नाताले राम्ररी मास्क लगाउन, सामाजिक दुरी कायम गर्न उनको सुझाव छ । लकडाउन समस्याको समाधान होइन् भन्दै डा. दीक्षितले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गरे ।

प्रतिक्रिया