सिंहदरबार पुगेर पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

admin

काठमाडौं, २७ पुस : पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

(आज) मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्र्यापण गरेका हुन् । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।

त्यस्तै उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए । पूर्व राजा पुग्दा भिड नियन्त्रण समस्या देखिएको थियो । त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गरिसकेका छन् ।

यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए ।

त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । विसं. २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेको छ ।

प्रतिक्रिया