मध्यरातमा पनि सहयोग गर्न तयार छु, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ : अर्थमन्त्री

admin

काठमाडौं, २७ पुस : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

(आज) मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै जसरी पनि खर्च गर्न आग्रह गरे ।

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’ मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् ।

उनले ठूला योजनाहरूमा पालिका र स्थानीय नागरिकलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै मन्त्री शर्माले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए । अहिले पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ ।

यसैबीच (हिजो) सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९ दशमलव ३९, चालु खर्च ३८ दशमलव ९ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा अहिलेसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

प्रतिक्रिया