काठमाडौं, २९ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले (कोभिड-१९) कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताएका छन् ।
प्रवक्ता कार्कीले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । पछिल्ला केही दिनदेखि कोरोना संक्रमण बढेको भन्दै प्रवक्ता कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् ।
उनले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन् । नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको ५० प्रतिशतभन्दा धेरै र १८ वर्षमाथिको जनसङ्ख्याको झण्डै ७७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।
सरकारले गएको पुसभित्र १८ वर्षमाथिका दुई तिहाइ नागरिकलाई पूर्ण मात्रा खोप दिने लक्ष्य लिएको भए पनि त्यो पूरा भएको छैन । नेपालमा खोपको उपलब्धता पर्याप्त रहेको भए पनि खोप अभियानले तीव्रता पाउन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
कतिपय नागरिकहरू खोपको नकारात्मक प्रभावको डर तथा लगाए पनि संक्रमण भइहाल्छ वा हामीलाई संक्रमण हुन्न जस्ता बुझाइका कारण खोप अभियानमा सहभागी नभएका विज्ञहरू बताउँछन् । खोपप्रति सकारात्मक धारणा बनाउनका लागि सरकारले पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।