सातदोबाटोले मनाङलाइ हरायो

admin

काठमाडौं, ३० पुस : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पारेको छ । पहिलो हाफकै दुई गोलको मदतमा सातदोबाटो २-१ को जित दर्ता गर्न सफल रहयो ।

खेलको ११ औं मिनेटमा सातदोबाटोले मार्टिन्स सिलो नांगाको गोलमा अग्रता लिएको थियो । मनाङको डिफेन्सले क्लियर गर्न नसकेको कर्नरमा मार्टिन्सको हेडर एकराज बुढाथोकीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

त्यस्तै पहिलो हाफको ७ मिनेट बाँकी रहँदा सातदोबाटोले अग्रता दोब्बर पार्यो । प्रशान्त अवस्थीको क्रसमा अजायी मार्टिन्सले हेडरमार्फत गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे ।

५७ औं मिनेटमा मनाङले गोल फर्काएको थियो । आफिज ओलावावलेले कर्नरमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर त्यसपछि पटक पटक सातदोबाटोको डिफेन्स बाधक बन्दा मनाङ सिजनको दोस्रो हार बेहोर्न बाध्य भयो ।

यस नतिजासँगै सातदोबाटो १२ अंकसहित लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । मनाङ भने १९ अंकसहित दोस्रो स्थानमा यथावत छ । शीर्षस्थानको मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ । मछिन्द्रले आइतबार ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ ।

यस्तै दिनको पहिलो खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको थियो । आवास लामिछानेले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल जितका लागि पर्याप्त रहयो । उनले नविन लामाको कर्नरमा गोल गरेका थिए । एपिएफ यस जितसँगै १० अंकका साथ नवौं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट एपिएफ ५ अंकले अघि बढेको छ ।

प्रतिक्रिया