सिन्धुपाल्चोक, माघ १ । पूराना र ठूला भनिएका संसदवादी दलहरुले जनताका छोराछोरीले विदेशमा तातो घाम गर्मी खपेर नेपाल पठाएको रकम पनि कसरी समिति नै बनाएर मिलीजुली विभिन्न योजनामा शेयर दिलाइदिने भन्दै लुटेर खाइरहेका रहेका रहेछन् भन्ने वास्तविक उदाहरण सिन्धुपाल्चोकमा देखिएको छ ।
सिन्धुपाल्चोकको मध्यभोटेकोशी जलविद्युत परियोजनामा शेयर दिलाइदिन्छौं भन्दै नेकपा राप्रपा, एमाले, कांग्रेस, माओवादी समेत मिलेर केन्द्रदेखि स्थानीय तहसम्म सहमति र मिलेमतोमा समिति नै बनाएर ३ करोड भन्दा बढी रकम स्थानीय मजदुर किसान र अन्य सर्वसामान्यबाट लिएर २०७० सालदेखि हालसम्मै ठगी गरेको विरुद्ध उक्त रकम सावाँ व्याज नै फिर्ता गर्न भन्दै सिन्धुपाल्चोकका पीडित जनताले एक आमसभा नै गरी संघर्ष समिति गठन गरेका छन् ।
उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राजनीतिक दलहरुले नै जनतालाई दिएका दुःखहरुको विरुद्ध लड्न आह्वान गर्दै जनतालाई संगठित गर्ने क्रममा सो संघर्ष समिति गठन गर्न मध्यभोटेकोशी जलविद्युत परियोजना स्थलमा नै आयोजित कार्यक्रममा झण्डै १०० जना पीडितहरुले आफूसँग २० २५ हजार देखि ५ १० लाख रुपैयाँसम्म रकम राजनीतिक दलहरुले शेयर दिलाइदिन भनेर गठित समितिले संकलन गरी ठगी गरेको बताएका थिए ।
उनीहरुले आफूहरुले शेयर दिलाइदिन भनेर रकम लिएको पार्टीकै तर्फबाट रसिद समेत दिएको प्रमाणहरु पनि पीडित जनताले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, सचिवालय सदस्य शिवराम थापा, एडिपिका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नील बहादुर लामा, केन्द्रीय सदस्यत्रय नकुल तिमिल्सिना, वि पी पौडेल, लोचना शर्मा समेतले आफूले विभिन्न जिल्लामा पूराना संसदवादी दलबाट संरक्षित समूहबाट जनतालाई आर्थिक रुपमा प्रत्यक्षतः नै ठगी गरिएको घटनाहरुका बारेमा पार्टीमा र अभियानमा गुनासोहरु र सहयोगका लागि अनुरोध आएकोले आफूहरुले जनताको सहयोगका लागि निःशुल्क कानुनी र अन्य उपचारात्मक कार्यहरु अघि बढाएको बताएका थिए ।
पार्टी अध्यक्ष स्वागत नेपालले यस्तै प्रकृतिको घटना दोलखा, नुवाकोट, गोरखा, रसुवा र तराइका अन्य जिल्लाहरुमा समेत भएको र आफूहरुले तथ्यांक संकलन गरी त्यसका विरुद्ध जनतालाई न्याय दिलाउन लागी परेको बताए ।
उनले दोलखामा यसपूर्व राहत दिने निहुँमा पीडितहरुसँग नागरिकता मागी सोही नागरिकता दुरुपयोग गरेर कम्पनी खोली अर्बौंको राजश्व छली मुद्दामा भने सर्व सामान्यलाई फसाइएको घटनामा पनि राजनीतिक दल संरक्षित फटाहाहरु कर्मचारीहरु समेतको संलग्नता रहेको आफूहरुसँग प्रमाण रहेको पनि बताए ।
उनले सो विरुद्ध समेत त्यसरी फसाइएका सोझासाझा जनताको पक्षमा निःशुल्क मुद्दा लडी न्याय दिलाउने कार्यमा लागिरहेको समेत बताए ।
सिन्धुपाल्चोकमा राजनीतिक दलबाट त्यसरी रकम उठाएर ठगीमा पारिएकाहरुमध्ये धेरैले आफ्ना सन्तानले विदेशमा वैदेशिक रोजगारीमा गएर कमाएको रकम पठाएकोमा सोही रकम दलहरुले ठगी गरी लिएको कागज सहित प्रस्तुत गरेका थिए ।
आज गठित संघर्ष समितिको अध्यक्ष सुमन तामांग, उपाध्यक्ष प्रजन शाक्य, सचिव तिलक बहादुर श्रेष्ठ, कोषाध्यक्ष सरिता लामा र ८० जना रहेका छन् ।
संघर्ष समितिले तत्काल जनताको रकम सावाँ व्याज नै फिर्ता नगरे सम्बन्धित राजनीतिक दल र तिनका नेता विरुद्ध सामाजिक, भौतिक, नैतिक कारवाही शुरु गर्ने चेतावनी दिएका छन् ।