काठमाडौं, २ माघ : केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् ।
यस्तै ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ । दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन ।
छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ, मौसमविद् प्रतिभा मानन्धरका अनुसार (आज) आइतबार पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ ।
राम्ररी पानी नपरेका कारण मौसम पूर्णरुपमा खुल्न नसकेको उनले बताइन् । विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु, कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
केही दिनयता बेलुकाको समयमा चिसो सिरेटो समेत चल्न थालेको छ । हिउँदमा पश्चिमी वायुमार्फत हिमालबाट सिरेटो चल्ने भएकाले हावा चिसो हुन्छ । मौसमविद् मानन्धरले राम्ररी पानी नपर्दासम्म मौसम यस्तै रहने पनि बताइन् ।
यसैबीच, आइतबार काठमाडौंको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । (हिजो) शनिबार बिहान ५ दशमलव ७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आइतबार ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।