काठमाडौं, २ माघ : राष्ट्रियसभा र प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
(भोलि) सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ भने प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।
यसअघि सोमबार दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना संक्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले (आज) आइतबार सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित भएको जानकारी दिएका हुन् । यस्तै महासचिव गौतमले विशेष कारणवश राष्ट्रियसभा बैठक बस्न नसक्ने बताएका छन् ।
यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो । प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ ।
संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोना संक्रमणलाई कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।