जनकपुरमा ‘मधेस’ प्रदेश नामाकरण प्रति असहमति जनाउँदै सांसदहरुको पुत्ला जलाइयो

admin

जनकपुरधाम, ४ माघ : जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् ।

मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा (आज) मंगलबार जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् ।

आठ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटेएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिएका छन् ।

त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन् । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला-भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।

यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार सार्वजनिक विदा दिएको छ । (हिजो) सोमबार प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा मंगलबार सार्वजनिक बिदा दिएको हो ।

त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा (भोलि) बुधबार पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ । मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया