रात्रिकालिन व्यवसायीद्वारा ३ लाखलाई सडकमा उतार्ने चेतावनी

admin

काठमाडौं, १४ माघ : रात्रिकालीन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरन्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए ।

जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए ।

उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालीन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे ।

त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरु बेरोजगार हुनुपरेको बताए ।

सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको उनले बताए ।

यसैगरी, कार्यक्रममा बोल्दै व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको गुनासो गरे ।

प्रतिक्रिया