यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णहरु (निर्णयहरूसहित)

admin

काठमाडौं, १८ माघ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरिएको छ ।

मंगलबार नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै, विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकन डलर सहुलियतपूर्ण ऋणको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली पनि गठन गर्ने भएको छ ।

यस्तै, राजपत्रांकित द्वितिय श्रेणीका कर्मचारीलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्ती, बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु :

– विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेण्ट पोलिसी क्रेडिट’ बापत प्राप्त हुने १५० मिलियन अमेरिकन डलर (करिब १८ अर्ब रुपैयाँ) सम्बन्धी सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने,

– तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही अधिकार तोक्ने,

२०७८ माघ १९ गते सोनाम ल्होछारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने,

– मालपोत कार्यालय र नापी कार्यालय, सिमरा, बाराको कार्यक्षेत्र पर्ने साबिकका गाविसहरु बुनियाँर, रामपुरकोटनी तथा लिपनी मालको कार्यक्षेत्र भूमिसूधार मालपोत कार्यालय र कैलालीको कार्यक्षेत्रमा समावेश गर्ने,

– मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्रभित्र पर्ने साबिक हाजिपुर गाविसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरेनीको कार्यालयमा समावेश गर्ने,

– दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्र्याक निर्माणको काम नेपाली सेनाबाट गर्न स्वीकृत प्रदान गर्ने,

– नेपाल खुला विश्वविद्यालयको उपकुलपती पदमा काठमाडौंका सिलु मानन्धरलाई नियुक्त गर्ने,

– शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने,

– सफा हिमाल अभियान २०२२ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोणह गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटीबापतको रकम छुट दिने,

– अर्थमन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई निजामति सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने,

– लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितिय श्रेणीका कर्मचारीलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्ती, बढुवा गर्ने,

– कच्चा दूधको न्यूनतम् मूल्य ५६.४ रुपैयाँ निर्धारण गर्ने,

– जाजरकोटका समितजंग शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा बढीमा ४ वर्षका लागि नियुक्त गर्ने ।

प्रतिक्रिया